चन्द्रागिरि- चन्द्रागिरि नगरपालिका–७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा ९औँ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता–२०८३ सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कभर्ड हलमा नियमित रूपमा ब्याडमिन्टन खेल्दै आएका खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ। भदौ २७ र २८ गते सञ्चालन हुने प्रतियोगिताको उद्घाटन चन्द्रागिरि–७ का वडा अध्यक्ष शम्भुकुमार केसी र वडा सदस्य भुवन केसीले ब्याडमिन्टन खेलेर गर्नुभएको हो। प्रतियोगितामा ए, बी र महिला समूह गरी कुल ६५ टिम सहभागी रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा नियमित रूपमा कभर्ड हलमा अभ्यास तथा खेल्दै आएका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गरिएको हो। आयोजकका अनुसार आन्तरिक प्रतियोगिताले खेलाडीबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै उनीहरूको खेल क्षमता पहिचान र सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। महांकाल ब्याडमिन्टन कभर्ड हलका संस्थापक अध्यक्ष देवेन्द्र महतको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। हलका अध्यक्ष सानु श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सदस्य निराजन महतले स्वागत मन्तव्य राख्नुभएको थियो।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष केसीले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको क्षमता विकाससँगै युवापुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले खेलकुदका गतिविधिलाई निरन्तरता दिन सके स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभयो। कभर्ड हलमा नियमित अभ्यास गर्ने खेलाडीबीच आयोजना हुँदै आएको आन्तरिक प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने र आगामी प्रतियोगिताका लागि तयारी गर्ने अवसरसमेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ। दुई दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय