काठमाडौं । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका वडा नम्बर १ को दहचोकमा रहेको इन्द्र दहमा आज विशेष मेला लागेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्र दह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

भाद्रशुल्क पूर्णिमामा लाग्ने दहचोक इन्द्रदह स्नान मेला भर्न काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङलगायत देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वासअनुसार प्रत्येक बर्ष मेला लाग्ने गरेको हो । पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्र र इन्द्रायणीको दर्शन गर्नाले पाप नास हुने जनविश्वास छ । उक्त स्थानमा इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा दहमा स्नान गरेको किंवदन्ती पाइन्छ । इन्द्रले फूल चोरी गरेको अभियोगमा काठमाडौंको वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजाय स्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको किम्वदन्ती छ ।

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा संमृद्धि कायम हुने विश्वास गरिन्छ । थानकोट, नैकाप, सितापाइला लगायत बिभिन्न स्थानबाट सजिलै पुग्न सकिने मोटर बाटोको अलावा पदयात्रा मार्ग समेत रहेको छ । पूर्णिमाको अघिल्लो साँझमा मन्दिरमा बत्ती बाल्ने चलन रहेको छ । मृत्य भएका घरको सदस्यको नाममा यहाँ बत्ती बाल्नाले ती व्यक्तिले मोक्ष पाउने विश्वास रहिआएको स्थानीयहरु बताउछन् । हिजो साँझबाटै भीडभाड देखिएको मन्दिरमा भक्तजनको सुविधाका लागि बिहानैदेखि दह खुला गरिएको थियो ।

ऐतिहासिक, साँस्कृतिक नगरी समृद्ध पर्यटकीय चन्द्रागिरिको नारालाई मूर्तरुप दिन र आन्तरिक पर्यटकलाई बढावा दिने र बाह्रय पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले जात्राको अघिल्लो दिन पहिलो पटक धिमे खःल, बासुरी खःल र लाखे नाच प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय