चन्द्रागिरि नगरपालिका–५ किसिपिडीमा रहेको ऐतिहासिक महत्व बोकेको पोखरी स्थानीय युवाहरूको सक्रियतामा सफाइ गरिएको छ। लामो समयदेखि संरक्षणको अभावमा बेवास्तामा परेको सो पोखरीलाई पुनः व्यवस्थित गर्ने उद्देश्यले युवाहरूले सामूहिक रूपमा सफाइ अभियान सञ्चालन गरेका हुन्।
शनिबार विहानदेखि शुरु गरिएको सफाइ कार्यक्रममा स्थानीय युवा क्लब, समाजसेवी, विद्यार्थीहरू तथा अन्य स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो। पोखरीमा पलाएको झार, फोहोर तथा प्लास्टिकजन्य वस्तु हटाइ सफा बनाइएको छ।



युवाहरूको यो पहलले नजिकिँदै गरेको छठ पर्वलाई पनि मध्यनजर गरिएको बताइएको छ। “हाम्रो ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरेर हामीले यो अभियान थालेका हौँ,” सफाइ अभियानमा संलग्न युवा अर्जुन थापाले बताए।
स्थानीय बासिन्दाका अनुसार किसिपिडीको यो पोखरी पुराना धार्मिक र सांस्कृतिक गतिविधिसँग सम्बन्धित रहँदै आएको छ। तर संरक्षण र सरसफाइको अभावले पोखरी दुर्गन्धित र अस्तव्यस्त बन्न थालेको थियो।
अब भने युवाहरूको यो प्रयासले स्थानीय तहको ध्यान समेत आकर्षित गरेको छ। उनीहरूले पोखरीको दिगो संरक्षणका लागि नगरपालिका र अन्य सरोकारवाला निकायसँग समन्वय गर्ने तयारी गरिरहेको जनाएका छन्।
स्थानीयवासी मीरा तामाङले भनिन्, “हाम्रै छोराछोरीहरूले पोखरी सफा गर्न थालेपछि अब हामी सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ। नगरपालिका पनि जाग्नुपर्छ।”
युवाहरूले आगामी दिनमा पोखरीको मुहार फेर्न वृक्षारोपण, पर्खाल निर्माण, पोखरीको पानी व्यवस्थापनजस्ता कार्यक्रम पनि ल्याउने तयारी गरिरहेका छन्।



