काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएसंगै काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि चन्द्रागिरि – ८ मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ ।
सबस्टेसनको क्षमता ३२० एमभिए छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको हो । मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण भएको छ । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ, देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ भएको छ । उक्त प्रसारणलाइनलाई २०७९ असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजनाअन्तर्गत नै मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माणाधीन छ ।



त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा रहेको छ । मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नुपर्नेछ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिनेछ ।
मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनलाई वाँणभञ्ज्याङमा एक–आपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ। मातातीर्थबाट विद्युतलाई १३२ केभी प्रसारणलाइनमार्फत हेटौँडातर्फ समेत प्रवाह गर्न सकिने छ ।



