काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ९, मच्छेगाउँ निवासी समाजसेवी शान्ति महर्जनलाई नेपाली सेनाले सम्मान गरेको छ । विभिन्न सामाजिक सेवामा पु¥याएको उल्लेखनीय योगदानका आधारमा उनलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।



महर्जन एकल महिला हुन् । उनले लामो समयदेखि मानवअधिकारको संरक्षण, सामाजिक विकास, महिला सशक्तिकरण तथा विपन्न समुदायको उत्थानका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । स्थानीय तहमा सामाजिक न्याय र समानताको पक्षमा उनले गरेका अभियान तथा सेवामूलक कार्यलाई उच्च मूल्याङ्कन गर्दै नेपाली सेनाले उनलाई सम्मान गरेको जनाएको छ ।
सम्मान कार्यक्रममा उपस्थित वक्ताहरूले महर्जनले समाजमा देखाएको समर्पण, सेवा भावना र नेतृत्वले अन्यलाई पनि प्रेरित गरेको बताए । उनीहरूले महिला नेतृत्व र सामाजिक न्यायका क्षेत्रमा महर्जनले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।
महर्जनले प्राप्त सम्मानले आफूलाई अझ बढी सामाजिक सेवामा सक्रिय बन्न प्रेरणा दिएको बताउँदै आगामी दिनमा पनि मानवअधिकार, महिला अधिकार र सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
स्थानीयवासीहरूले पनि महर्जनको सम्मानलाई समुदायका लागि गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।




