चन्द्रागिरि नगरपालिकामा नगर क्षेत्र भरि रहेको अव्यवस्थित तारको ब्यबस्थापन सम्बन्धि सरोकारवाला सेवा प्रदायकहरु संगको बैठक सम्पन्न भएको छ । बैठकले नगरपालिकाको उपकरण तथा औजार ब्यबस्थापन र सेवा प्रदायकहरुको जनशक्ति ब्यबस्थापनमा राजमार्ग र भित्री सडकमा रहेका तार ब्यबस्थापन सुरु गर्ने भएको छ ।




शुक्रबार चन्द्रागिरि नगरपालिकाको कार्यालयमा नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा नगर क्षेत्र भरि संचालनमा रहेका टेलीफोन, ईन्टरनेट तथा केबल टेलिभिजनका सेवा प्रदायकहरु संग अव्यवस्थित रूपमा रहेको तारको ब्यबस्थापन गर्ने सम्बन्धि बैठक सम्पन्न भएको थियो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, विभिन्न वडाका अध्यक्षहरु, वातावरण तथा विपत् शाखा प्रमुखका साथै प्राविधिक शाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बैठकमा नगर प्रमुख गिरीले नगर भरि अव्यवस्थित रूपमा रहेको तारहरुले नगरको सौन्दर्यतामा ह्रास आउनुका साथै आगलागी समेत भएर जनधनको क्षति हुन सक्ने सम्भावना रहेकोले अनावश्यक तारहरु निकाल्ने तथा रहेको तारहरुलाई व्यवस्थित तरिकाले क्ल्याम्प गर्न सरोकारवाला सबै सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएकाछन्। साथै उक्त बैठकले सम्पुर्ण सेवा प्रदायकहरुले जनशक्ति उपलब्ध गर्ने र नगरपालिकाले आवस्यक उपकरण तथा औजार उपलब्ध गरि शुरुमा राजमार्ग र क्रमै संग भित्री सडकको पोलहरुमा रहेको अव्यवस्थित तारको ब्यबस्थापन गर्ने निर्णय समेत गरेको छ ।




