गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निःशूल्क बिद्युतीय बस चल्न थालेको छ । ६ वर्षदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरूलाई लुम्बिनी विकास कोषले परीक्षणका रूपमा सञ्चालन गरेको छ । कोष परिसरमा रहेका ठुला पाँच विद्युतीय बसमध्ये दुईवटाबाट परीक्षणस्वरूप सेवा सुरु गरेको हो ।

लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ल्याइएका मध्ये २ वटा बसको परीक्षणका लागि सञ्चालन शुरु गरिएको हो । एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटक सेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण बस र भ्यान सञ्चालन हुन सकेको थिएन । दाताले दिएको बस पर्यटक सुविधाका लागि सञ्चालन नगरेको भन्दै सर्वत्र आलोचना भएपछि कोषले परीक्षण स्वरुप बसमा दानपेटिका राखेर सञ्चालन शुरु गरेको हो ।

बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिनसक्नेछन् । तर बसभाडा भनेर पैसा लिइनेछैन । लुम्बिनी आउन चाहने तीर्थयात्रीहरुलाई लुम्बिनीमा ल्याउदा त्यसले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ । संघीय मन्त्रीले सञ्चालनका लागि निर्देशन दिएपछि लुम्बिनीमा बिद्युतीय बस सञ्चालनमा ल्याईएको हो । पर्यटक सेवाका लागि ल्याइएको बस सञ्चालन हुँदा पर्यटन प्रवद्र्धन हुनेमा यस क्षेत्रका ब्यवसायीले विश्वास लिएका छन ।

विद्युतीय बस र भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराईको संयोजकत्व ३ सदस्यीय कार्यदल बनाएर कार्यविधि नै तयार गरिसकेको थियो । सरकारी नम्बर प्लेट हरियो बनाउने कानुन नभएपछि प्रदेश सरकारले २०८१ जेठ ६ गतेको मन्त्रिपरिषदले नम्बर परिवर्तन गर्न बाटो खुल्ला गरेपनि कार्यान्वयन नहुँदा बस सञ्चालन गर्न नसकेको हो ।

यसअघि पनि लुम्बिनी विकास कोषले २०७९ असोज १३ देखि कार्तिक १३ गतेसम्म ‘धम्म यात्रा’ नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निशुल्क रुपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो । बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले नि:शुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका थिए । एसियाली विकास बैंकको अनुुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बस, भ्यान र चार्जिंग स्टेशनसोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि झन्डै २८ करोड लागत लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय