चालु आर्थिक वर्षको सात महिना साउनदेखि माघसम्म १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो ।
गत वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपियाँभन्दा बढीको आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् ।



सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् । विद्युतीय गाडीको प्रयोग प्रवर्धन गर्ने सरकारको नीतिको कारणले गर्दा पनि आयातमा वृद्धि भएको बताइएको छ । पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ ।



