काठमाडौं । केही दिनदेखि चिनीको मूल्य अस्वभाबिकरुपमा बृद्धि भएको छ ।
बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँमा विक्री भइरहेको छ । साल्ट ट्रेडिङले अहिले पनि प्रतिकिलो ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । तर, बजारमा भने १ सय ५० रुपैयाँ पुगेको छ । केही दिन अघि मात्रै कुलेश्वरको एक गोदाममा भण्डार गरिराखेको ७० हजार किलो चिनी बरामद गरिएको थियो । व्यापारीहरुले चिनी कृत्रिम अभाव गरेर मूल्य बढाइ रहँदा पनि सरकार भने कालोबजारी गर्ने व्यापारीलाई नियन्त्रणमा लिन सकेको छैन । चाडबाड नजिकिदै गर्दा व्यापारीहरुले उपभोक्तासँग मौका छोपिरहँदा सरोकारवाल निकाय मौन बसिदिंदा कालोबजारी गर्ने व्यापारीको मनोबल उच्च हुन पुगेको छ ।



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८८ हजार ५ सय १३ क्विन्टल चिनी मौज्दात रहेको भनि रहँदा पनि उपभोक्ताहरुले चर्को मूल्य तिर्न बाध्य छन् । विभागले थप २० हजार टन चिनी खरिद गर्दैछ । चाड पर्वलाई लक्षित गर्दै केही दिन भित्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले १०÷१० हजार टन चिनी खरिद गर्दैछ । प्रतिकिलो एक सय रुपैयाँले पाईने चिनी १५० रुपैयाँ पुग्दासम्म पनि सरकार र सम्बन्धित निकाय मौन हुनुले सरकार, कर्मचारी र कालाबजारी गर्ने व्यापारीबीच कतै साठगाँठ त छैन भन्ने प्रश्न उठ्न थालेको छ ।



