चीनको राजधानी बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ । प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको पनि मृत्यु ज्यान गुमाएका छन् । उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिएका छन् । जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’ का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।



वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पु¥याएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । यहाँका ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । यस्तै २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ ।
त्यस्तै, चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाढीमा परी सात जनाको मृत्यु भएको र अन्य चार जनालाई उद्धार गरिएको सीसीटीभीले जनाएको छ ।



