काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएसँगै सप्तरीमा चुनाव आचारसंहिता विपरीत प्रयोग भएका भारतीय नम्बर प्लेटका सवारी साधनहरू नियन्त्रणमा लिइएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट खटिएको अनुगमन टोलीले प्रचारप्रसारमा प्रयोग भइरहेका दुई भारतीय गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको हो । विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग भइरहेको सूचनापछि सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा अनुगमन टोली खटाइएको थियो । उक्त टोलीले प्रचारमा प्रयोग भइरहेका दुई भारतीय गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार सप्तरी क्षेत्र नम्बर–२ बाट स्वाभिमान पार्टीका तर्फबाट उम्मेदवारी दिएका सतिशकुमार सिंहका समर्थकले प्रचारप्रसारमा प्रयोग गरिरहेको भारतीय स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित अर्को एक भारतीय नम्बर प्लेटको सवारी साधन पनि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका गाडीमध्ये बीआर ११ पी बी ८६१० नम्बरको गाडी स्वाभिमान पार्टीसँग सम्बन्धित रहेको र बीआर ६७ पी बी ८९५६ नम्बरको गाडी रास्वपासँग सम्बन्धित रहेको जनाएको छ । उक्त गाडीहरूमा चुनावी प्रचारप्रसार सामग्री समेत फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय