सर्लाही – कुनै समय तराई–मधेशका समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय समुदायको सीमा नाघ्दै साझा सांस्कृतिक उत्सवका रूपमा विस्तार हुँदै गएको छ। मधेशी समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा परिचित छठ पर्वमा अहिले पहाडी समुदायको सहभागिता पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। एउटै छठ घाटमा विभिन्न जाति, भाषा र समुदायका मानिस एकैसाथ सूर्यको आराधना गर्दै पर्व मनाउन थालेपछि छठ धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहअस्तित्व र एकताको प्रतीक बन्दै गएको छ। सूर्यदेव र छठी माताको आराधना गरी सुख, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ मनाइने छठ पर्व चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइन्छ। पर्वको पहिलो दिन नहाय–खाय विधिबाट व्रत सुरु हुन्छ। त्यसपछि खरना, षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।

कुनै समय मधेशी समुदायका व्रतालुहरूले मात्र भरिने छठ घाटमा अहिले पहाडी समुदायका व्रतालुहरूको समेत उल्लेख्य उपस्थिति देखिन थालेको छ। विशेषगरी पहाडी समुदायको बसोबास रहेका क्षेत्रमा दुवै समुदायका मानिस एकै ठाउँमा भेला भएर छठ मनाउने गरेका छन्। छठी माताप्रतिको आस्था र धार्मिक विश्वासले आफूहरूलाई पनि यस पर्वसँग जोडेको स्थानीयको भनाइ छ। छठ पर्वको मुख्य दिन षष्ठीमा व्रतालुहरूले नदी, तलाउ तथा पोखरीका किनारमा निर्माण गरिएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। व्रतालुहरूले चतुर्थीदेखि नै शुद्धता, पवित्रता र धार्मिक विधिमा विशेष ध्यान दिँदै कठोर व्रत बस्ने परम्परा छ। पारिवारिक सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ मनाइने यस पर्वमा पछिल्लो समय पहाडी समुदायको सहभागिता पनि प्रत्येक वर्ष बढ्दै गएको स्थानीय बताउँछन्।

धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन कथासँग समेत जोडिएको छ। पौराणिक जनविश्वासअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीले संकटबाट मुक्ति र मनोकामना पूरा हुने कामनासहित सूर्यदेवको आराधना गरेकी थिइन्। यही धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै छठ पर्व मनाउने गरिएको विश्वास छ। छठ पर्वमा बाँसबाट निर्मित सुपली, नाङ्लो, डाला लगायतका सामग्रीको विशेष महत्त्व हुन्छ। यस्ता सामग्री परम्परागत रूपमा डोम समुदायका कालिगढहरूले निर्माण गर्दै आएका छन्। पूजामा यी सामग्रीको प्रयोगले परम्परागत सीप, श्रमको सम्मान र विभिन्न समुदायबीचको परस्पर निर्भरतालाई समेत उजागर गर्छ। यसले छठ पर्व धार्मिक अनुष्ठान मात्र नभई स्थानीय संस्कृति, परम्परा र आर्थिक गतिविधिसँग पनि जोडिएको देखाउँछ।

छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष सामूहिक तयारी र व्यवस्थापन हो। स्थानीय नदी, तलाउ तथा पोखरीका किनार सरसफाइ गर्ने, घाट निर्माण गर्ने र सजावटसहित व्यवस्थापन गर्ने काममा स्थानीयवासी सामूहिक रूपमा जुट्ने गरेका छन्। घाट निर्माण तथा व्यवस्थापनका लागि मधेशी र पहाडी समुदायका मानिसहरूले समान रूपमा सहयोग र चन्दा संकलन गर्ने गरेका छन्। मुस्लिम समुदायका व्यक्तिहरूको समेत सहभागिता रहने यस अभ्यासले धार्मिक तथा सामुदायिक सद्भावको उदाहरण प्रस्तुत गरेको छ। त्यस्तै, छठ पर्वलाई महिला सशक्तीकरणसँग जोडेर पनि हेर्ने गरिएको छ। घरपरिवारमा महिलाको नेतृत्व र निर्देशनमा पर्वका अधिकांश तयारी तथा धार्मिक विधि सम्पन्न हुने भएकाले यसमा महिलाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। व्रत नबस्नेहरूले समेत व्रतालुहरूलाई पूजाका सामग्री उपलब्ध गराउने, घाट व्यवस्थापनमा सहयोग गर्ने र पूजामा सहभागी हुने गरेका छन्। यसले पर्वलाई सामूहिक जिम्मेवारी र आपसी सहयोगको अभ्यासका रूपमा समेत स्थापित गर्दै लगेको छ।

यसरी छठ पर्व अब कुनै एक समुदायको धार्मिक अनुष्ठानमा मात्र सीमित नरही विभिन्न जाति, धर्म, भाषा र समुदायलाई जोड्ने साझा उत्सव बन्दै गएको छ। धार्मिक आस्थासँगै आपसी सहयोग, सामाजिक एकता र सहअस्तित्वको सन्देश फैलाइरहेको छठ पर्वले विविधताबीच एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय