काठमाडौं — काठमाडौंको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका लागि गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण चारदेखि पाँच घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको सडकमा माटो र बालुवा थुप्रिँदा स्थानीयको आवतजावतसमेत प्रभावित भएको छ। स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन कटान गरेपछि पहिरोको समस्या देखिन थालेको हो। करिब दुई वर्षदेखि निर्माणाधीन उक्त घरको काम अपेक्षित रूपमा अघि नबढेको र निर्माणस्थलबाट निस्किएको माटो तथा बालुवा नियमित रूपमा नहटाउँदा समस्या थपिएको स्थानीयको गुनासो छ।
पहिरोका कारण जोखिममा परेका घर तथा बस्तीमा थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल पहिरो नियन्त्रणका उपाय अपनाउन माग गरेका छन्। निर्माणस्थलबाट सडकमा थुप्रिएको माटो हटाउने, सडक सफा तथा मर्मत गर्ने र जमिनलाई सुरक्षित बनाउने काम तत्काल गर्नुपर्ने उनीहरूको माग छ। स्थानीयवासीले वडा कार्यालय तथा जनप्रतिनिधिलाई पहिरो र सडकको अवस्थाबारे पटक–पटक जानकारी गराए पनि ठोस पहल हुन नसकेको गुनासो गरेका छन्। यद्यपि नगर उपप्रमुखले समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको स्थानीयले बताएका छन्।



घटनापछि टोल सुधार समितिको पहलमा निर्माण पक्षसँग समस्याको समाधानबारे छलफलसमेत भइरहेको छ। स्थानीयले जोखिममा रहेका घरको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय र निर्माण पक्ष दुवैलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।



