आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रोजगारीको सिलसिलामा भारत गएका नेपाली युवाहरू घर फर्किन थालेका छन्। विशेषगरी बाँकेको जमुनाह नाकामा यतिबेला दैनिक सयौंको संख्यामा युवाहरू नेपाल भित्रिरहेका छन्। सामान्य दिनमा तुलनात्मक रूपमा शान्त देखिने नाका अहिले भने मतदाताको भीडले व्यस्त बनेको छ।
भारतका पुणे, गुजरात, गोवा लगायत विभिन्न सहरमा काम गर्दै आएका युवाहरू मतदान गर्नकै लागि कामबाट बिदा लिएर घर फर्किएको बताउँछन्। उनीहरूको भनाइमा, “यसपटकको चुनाव फरक हुनुपर्छ, पुरानै अनुहार दोहोरिनु हुँदैन।” धेरैले दलीय आधारभन्दा सक्षम, इमान्दार र युवाहरूको समस्या बुझ्ने उम्मेदवार रोज्ने बताएका छन्।



अछाम घर भई भारतको पुणेमा काम गर्दै आएका प्रकाश शाही चुनावकै लागि घर फर्किएको बताउँछन्। विगतमा नेताहरूले धेरै आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताए। त्यस्तै, जुम्लाका सूरज रावत चार वर्षदेखि गुजरातमा कार्यरत छन्। नेपालमा रोजगारी नपाएपछि बाध्य भएर भारत जानुपरेको भन्दै उनी भन्छन्, “यसपटक युवाको आवाज उठाउनेलाई नै मत दिन्छु।”
परिवारको गुजारा चलाउन विदेशिनुपरेको पीडा धेरैको उस्तै छ। साहुको ऋण, असुरक्षित कामको वातावरण र कम ज्यालामा काम गर्नुपरेको अनुभव सुनाउँदै उनीहरू देशमै रोजगारी सिर्जना गर्ने नेतृत्व चाहिएको बताउँछन्। दाङका भूपेन्द्र बस्नेत र बर्दियाका हरिष बुढाले पनि नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राखे।
महिलाहरू पनि पछाडि छैनन्। बर्दियाकी कालिका पुन विगत आठ वर्षदेखि गोवामा काम गर्दै आएकी छन्। उनी भन्छिन्, “हामी जस्ता युवालाई देशमै काम गर्ने वातावरण बनाउनेलाई नै मत दिन्छु।”
निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती नाकाबाट मतदाताको आवागमन बढेको छ। गाउँघरमा फेरि चहलपहल देखिन थालेको छ। विगतका उम्मेदवारप्रति निराश मतदाताहरू यसपटक नयाँ सोच, नयाँ योजना र व्यवहारमा काम गर्ने नेतृत्वको खोजीमा रहेको देखिन्छ। भाषणभन्दा काम गर्ने उम्मेदवारलाई मौका दिनुपर्ने आवाज सीमा नाकादेखि गाउँसम्म सुनिन थालेको छ।




