काठमाडौं । २०८० कात्तिक १७ गते शुक्रबार मध्यरातको ११ बजेर ४७ मिनेटमा बेलुकी खाना खाएर सुतेको पश्चिम नेपाललाई अकल्पनीय रुपमा ब्यूँझायो । जाजरकोट र पश्चिम रुकुमलगायत पूरै देश मस्त निद्राको अवस्थामा एक्कासी कम्पन भयो । सबैको निद्रा खुल्यो । केही ठाउँमा कोलाहल नै मच्चियो । कारण थियो भूकम्प । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा पश्चिम नेपाल र त्यसको छिमेकी जिल्लामा ठूलो क्षति पुग्यो ।




प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलगायतको टोली भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी उद्दार कार्यलाई तीब्रताका साथ अघि बढाएका थिए । सरकारले जाजरकोटका भूकम्प प्रभावितहरूको उद्धार कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रभावितस्थलमा उद्धार र राहतमा कुनै किसिमको कमी हुन नदिने बताएका छन् भने विभिन्न संघसंस्था, विदेशी दातृ निकायलगायतले पनि सहयोग हात बढाउने बचन दिएका छन् ।

भूकम्पबाट आफन्त गुमाउँदाको शोक र घरबारविहीन हुँदाको पीडाले जाजरकोट र रुकुम पश्चिमका बासिन्दालाई अहिले पिरोलिरहेको छ । हामीले यो समाचार तयार पार्दासम्म १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ७५ जना घाइते छन् । जाजरकोट र पश्चिम रुकुमका अधिकांश परिवार घरबारविहीन हुन पुगेका छन् । बस्ने घर भूकम्पले धुजा धुजा बनाएको छ । अधिकांश परिवार कात्तिक महिनाको चिसो रातमा खुला आकाश मुनि पालमुनि बस्न बाध्य छन् । जाडोको समयमा स–साना बालबालिकाहरुको साथमा बाहिर खुला आकाशमा बस्नु पर्ने बाध्यता छ उहाँहरुलाई । सरकारले बस्नको लागि पालको व्यवस्था त गरिदियो तर चिसोको समयमा पालमुनि बस्दा उनीहरुको स्वास्थ्यमा समस्या नआउँला भन्न सकिदैन । त्यसैले जतिसक्दो चाँडो राहतको व्यवस्था गर्न जरुरी छ । जाजरकोट र पश्चिम रुकुमका जनताको घाउँमा मलहम जतिसक्दो चाँडो लगाउन जरुरी छ । यतिखेर पीडितहरु राहतको पर्खाईमा छन् सरकार ।
तस्बिर : भौतिक मल्ल



