सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत नेपाली श्रमिकलाई ‘स्पेसिफाइड स्किल वर्कर’ एसएसडब्लु श्रमिकको माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० ल्याएसँगै संस्थागत रूपमा माग ल्याउन र जापान पठाउनका लागि कानुनी बाटो खुलेको हो ।
कार्यविधिमा जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ पठाउने म्यानपावर कम्पनीसँग भाषा र सिपका लागि प्रचलित मापदण्डबमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र या पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता गरी लिएको तालिम केन्द्र भएको हुनुपर्ने उल्लेख छ । एसएसडब्लु प्रणाली अन्तर्गत रोजगारीका लागि जापान जान इच्छुक नेपाली नागरिकले जापान सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा इजाजतपत्र प्राप्त संस्थाबाट सञ्चालन भएको जापानी भाषा परीक्षा र पेसागत सिप परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।



हाल जिट्कोमार्फत सीमित नेपाली श्रमिक जापानमा जाने गरेका छन् । जापानले नेपालसँगै चीन, इन्डोनेसिया, मङ्गोलिया, म्यान्मार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट ‘स्पेसिफाइड स्किल वर्कर’ लिने योजना बनाएको छ । लामो समयदेखि मध्यपूर्व र मलेसियाको वैकल्पिक गन्तव्य खोजिरहेको नेपाली श्रमिकका लागि जापान सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वास गरिएको छ ।



