जापानमा ६ दिनअघि गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गर्दा मृतक बढेका हुन । वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ । अझै २ सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीले बताएका छन ।
प्रकोपको परिणाम स्वरूप ५ सय भन्दा बढी व्यक्तिहरू घाइते भएका छन । जसमध्ये कम्तीमा २७ गम्भीर घाइते छन । खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । इशिकावा क्षेत्रका करिब २३ हजार ८ सय घर बिजुली र ६६ हजार ४ सय भन्दा बढी घर पानीविहीन छन् ।



३१ हजार ४ सय भन्दा बढी मानिस ३ सय ५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् । नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको थियो । जापानले झण्डै आठ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।



