अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीपछि कोलम्बिया अवैध आप्रवासीलाई फिर्ता ल्याउन तयार भएको छ। यसअघि अमेरिकाले अवैध आप्रवासीलाई कोलम्बियातर्फ पठाएका दुई वटा हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन। तर, ट्रम्पले कोलम्बियाबाट आउने बस्तुमा २५ प्रतिशत कर बढाउने धम्की दिएका पछि, कोलम्बिया अब होन्डुरसमा हवाईजहाज पठाएर अवैध आप्रवासीलाई फर्काउन तयार भएको हो।
ट्रम्पको धम्कीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले पनि अमेरिकाको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनले अमेरिकाले आप्रवासीलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा गरेका थिए।



केही वर्षयता, कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा प्रवेश गरेको आरोपमा पक्राउ परेका छन् र अमेरिकाले ती नागरिकलाई फिर्ता पठाइरहेको छ। यस घटनाले कोलम्बिया र अमेरिकाबीचको व्यापारिक सम्बन्धमा पनि तनाव उत्पन्न गरेको छ।
कोलम्बियासँग अमेरिकाको व्यापार घाटा १ दशमलब ४ विलियन डलर रहेको अनुमान गरिएको छ, र कोलम्बिया दैनिक दुई लाख ब्यारेल कच्चा तेल अमेरिका पठाउँछ। अमेरिकाले कोलम्बियाबाट अन्य वस्तुहरू जस्तै सुन, कोइला, कफी र ताजा फलफूल आयात गर्दै आएको छ।
यो घटनाले दुई देशका बीचको व्यापार र आप्रवासी सम्बन्धमा नयाँ मोड ल्याएको छ।



