काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप आजपनि तीन खेल हुँदैछन् । दिनको पहिलो खेलमा समूह डी अन्तर्गत न्यूजिल्याण्ड र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् । न्यूजिल्याण्ड समूह चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । आजको खेल जिते न्यूजिल्याण्ड तेस्रो जितसहित सुपर एटमा प्रवेश गर्नेछ । लगातार दुई खेलमा पराजित क्यानडा पहिलो जितको खोजीमा छ । चेन्नईमा खेल बिहान सवा एघार बजे शुरु हुनेछ ।



दोस्रो खेल समूह बीमा जिम्बाब्वे र आयरल्याण्डबीच हुनेछ । जिम्बाब्वे लगातार तेस्रो जित निकाल्दै सुपर एटमा पुग्ने लक्ष्यमा छ । दुबै खेल जितेको जिम्बाब्वे दोस्रो स्थानमा छ । जिम्बाब्वे आज विजयी भए यस समूहबाट अष्ट्रेलिया बाहिरिने छ । अन्तिम खेल खेल्न लागेको आयरल्याण्डले एक खेल मात्र जितेको छ । खेल दिउँसो सवा तीन बजे शुरु हुनेछ ।
आज हुने अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । समूह सीमा दुबै टोलीले औपचारिकताका लागि मात्रै खेल्दै छन् । नेपाल तीन खेलसम्म जितविहिन रहँदा स्कटल्याण्डले एक खेलमा मात्र जितेको छ । मुम्बईको वानखेडे रंगशालामा खेल राति सवा सात बजे शुरु हुनेछ ।




