भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ गठ्ठाघरमा देखिएको चितुवालाई डार्ट हानेर नियन्त्रणमा लिइएको छ।शुक्रबा बिहान २ महिलालाई आक्रमण गरी प्रबिन पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
चितुवाको आक्रमणबाट सोही स्थानमा बस्ने ६५ वर्षीया अमृता कँडेल र २२ वर्षीया संगिता आलेमगर घाइते भएका छन्। घाइतेहरूको उपचार मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले जानकारी दिए।चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका प्राविधिक टोली बोलाइएको थियो। वन कार्यालयको टोली बिहान पौने ९ बजे चितुवा लुकेर बसेको स्थानमा पुगेको थियो।



चितुवालाई नियन्त्रणमा लिन चार पटक डार्ट हानिएको डिभिजन वन कार्यालय हात्तिसारका सूचना अधिकारी तथा वन अधिकृत अशोक पराजुलीले जानकारी दिए।



