२० जनवरी २०२५, डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति रूपमा दोस्रोपटक शपथ ग्रहण गर्न जादै छन्। नेपाली समयअनुसार राति सवा १० बजे क्यापिटल हिलमा आयोजित ऐतिहासिक समारोहमा ट्रम्प बाइबलमा हात राखेर शपथ लिनेछन्। यस समारोहमा ट्रम्पकी पत्नी मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र प्रमुख राजनीतिक नेताहरू उपस्थित हुनेछन्।
अमेरिकी संविधान अनुसार, नयाँ राष्ट्रपति शपथ ग्रहण गर्ने मिति २० जनवरी निश्चित गरिएको छ। ट्रम्पले यस अघि २०१७ मा पनि राष्ट्रपति पदको शपथ लिएका थिए। उनका शपथ ग्रहण समारोहको परम्परा १७८९ मा जर्ज वाशिंगटनले सुरु गरेका थिए, जसअनुसार बाइबलमा हात राखेर शपथ लिनु सामान्य चलन हो। तर, केही राष्ट्रपतिहरू जस्तै जोन क्विन्सी आदम्स र थियोडोर रुजवेल्टले बाइबल राखेर शपथ लिएका थिएनन्।



शपथ ग्रहण समारोहमा ट्रम्पको देब्रे हात बाइबलमा राखिनेछ, र उनकी पत्नी मेलानिया ट्रम्प उक्त बाइबल समात्नेछन्। ट्रम्पको शपथ ग्रहण समारोह अमेरिकी संसदको क्यापिटल हिलमा सम्पन्न हुनेछ, जहाँ करिब ७०० अमेरिकी नागरिक र प्रमुख नेताहरू उपस्थित हुनेछन्। शपथ ग्रहण पछि, ट्रम्पको उद्घाटन भाषण हुने अपेक्षा गरिएको छ, जुन २०१७ मा उनको १७ मिनेट लामो भाषणको जस्तो छोटो र प्रभावकारी हुने अनुमान गरिएको छ।
समारोहका क्रममा हलिउडका कलाकारहरूको उपस्थिति कम हुने सम्भावना छ, किनकि यस पटक अधिकांश हलिउड कलाकारहरूले डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसको समर्थन गरेका छन्।
शपथ ग्रहण समारोहपछि ट्रम्प क्यापिटल हिलमा आयोजित एक लञ्च कार्यक्रममा भाग लिनेछन्, जहाँ अमेरिकी सांसदहरूसँग परिष्कृत भोजन गर्नेछन्। त्यसपछि, ट्रम्प र उनका समर्थकहरू ह्वाइट हाउससम्म र्याली गर्नेछन्, जसमा ट्रम्प स्वयं नेतृत्व दिनेछन्।
अमेरिकामा राष्ट्रपति चुनावपछि शक्ति हस्तान्तरण प्रक्रिया ७२ देखि ७८ दिनसम्म चल्ने गर्दछ। यस समयावधिमा निर्वाचन परिणामको कन्फर्मेशन, मतगणना र अन्य प्रशासनिक प्रक्रिया पूरा हुनेछन्। यस ऐतिहासिक दिनले अमेरिकी राजनीतिक परिप्रेक्ष्यमा नयाँ अध्यायको शुरुवात हुनेछ।



