काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले चन्द्रागिरि नगरपालिकामा रहेको शहीद स्मारक प्रकृति प्रतिष्ठान (थानकोट त्रिभुवन पार्क)को स्थलगत अनुगमन गरेको छ ।

समितिले नियमित कार्यक्रम अन्तरगत स्थलगत अन्तरक्रिया, अवलोकन तथा अनुगमन गरेको हो । अनुगमनपछि आयोजित अन्तरक्रियामा बागमती प्रदेशसभा सदस्य रमा आलेमगरले चन्द्रागिरि नगर ऐतिहासिक, सास्कृतिक र सम्पदाले धनी रहेको बताउनु भयो । उहाँले कुनै बेला त्रिभुवन पार्ककै नामले यहाँका बासिन्दाको पहिचान बनेको पनि बताउनु भयो ।

पार्कका अध्यक्ष मदन ताम्राकारले आफु कानून बाहिर नगई कानूनकै परिधिमा रहि सम्पूर्ण गतिविधि गर्दैआएको दाबी समेत गर्नुभयो । उहाँले अदालतले कुरै नबुझी निर्णय गर्दा अहिले समस्या उल्झिएको भन्दै अदालतको निर्णयको विरोध समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ताम्राकार बोल्दै गर्दा स्थानीय आक्रोशित भएका थिए । उनीहरुले ताम्राकारलाई तत्काल पदबाट राजीनामा दिई मार्गप्रशस्त गर्न पनि आग्रह गरेका थिए । पार्क दिनहुँ खण्डहर बन्दै गएपछि पार्कलाई पहिलेकै अवस्थामा जिवित बनाउनको लागि बाहिरका व्यक्ति नभई स्थानीयलाई नै पार्कको जिम्मा लगाउनु पर्ने आवाज उठेको थियो । स्थानीयले ताम्राकारले ७० लाखको कुरा गरेर सबैलाई भुलाउन खोजेको भन्दै २०७५ साल चैत ४ गतेको मन्त्रिपरिषद्को निर्णयले शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटलाई प्रदेश अन्तरगत राखि व्यवस्थापन गर्ने निर्णयबारे ध्यानाकर्षण गराएका थिए । पार्कको विषयमा अन्तरक्रियामै विवाद भएपछि स्थिति सामान्य बनाउन अनुगमन टोली नै उठ्नु परेको थियो ।

अन्तरक्रियामा प्रदेश सांसदहरुले स्थानीयलाई छलफलमा उठेका विषयबस्तु प्रदेश सभामा उठाउने र पार्कको दीर्घकालिन समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय