काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिकाले विगत केही वर्षअघि निर्माण गरेको पदमार्गले नगरको पर्यटन क्षेत्रलाई बढावा दिएको बताउनु भएको छ ।
बुधबार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित थानकोटको पानीघाट देखि चित्लाङजाने छोटो दुरीको बाटो भञ्ज्याङसम्मको पदमार्गको सरसफाइको क्रममा शाहीले यस्तो बताउनु भएको हो । उहाँले यो पदमार्ग निर्माणसँगै माथिल्लो भेगमा रहेका बस्तिहरुमा होमस्टे संचालन गर्न सकिने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो । उहाँले यस क्षेत्रको विकासको लागि पर्यटन बोर्डसँग पनि सहकार्य गरी अघि बढ्ने प्रयास भइरहेको र नगरपालिकाले जिपिएस र जिआइएस प्रविधि जोड्ने काम अन्तिम चरणमा पुगेकोले उक्त सिस्टम लागुभएसँगै पर्यटनका सम्भावना बोकेको ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्नेमा आफु आशावादी रहेको पनि बताउनु भयो । उहाँले थानकोट पानीघाट देखि चन्द्रागिरिको माथिल्लो भाग भञ्ज्याङसम्म करिब ३ किलोमिटरको पदमार्ग निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको र चन्द्रागिरिबाट चित्लाङ हिडेर जानकै लागि पनि यो बाटो छिटो र छोटो पर्ने हुँदा पैदलयात्रीले यो पदमार्गलाई रोज्ने गरेको बताउनु हुन्छ । उहाँले बर्खायाममा घास, झार, रुखका हाँगाविंगा बढेर हिडडुल गर्न केही असहज भएकोले पदलमार्गमा सरसफाई गरेको पनि बताउनु भयो ।



वडाले आयोजना गरेको कार्यक्रममा उपत्यका पृतना तालिम शिक्षालयको विशेष सहयोगमा पदमार्ग सरसफाइ गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय, चन्द्रागिरि हाइकर्स कम्युनिटीलगायतको सहभागिता रहेको थियो । पदमार्ग क्षेत्रमा भएका झार, प्लास्टिक, रुखका हाँगाबिँगा, फोहोर लगायत संकलन गरिएको थियो ।









