काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित थानकोटको शहीद पार्क (थानकोट पार्क) पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको यस पार्कको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको र हाल अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा चन्द्रागिरि नगरपालिकाको समपूरक योजनाहरूमध्ये थानकोटको शहीद पार्क (त्रिभुवन पार्क) पनि एक हो । यो पार्कको पुनर्निर्माणको लागि प्रदेश सरकारको १ करोड ५० लाख र नगरपालिकाको १ करोड ५० लाख गरेर ३ करोड र नगरपालिकाको आफ्नो छुट्टै स्रोतबाट गरी कुल ३ करोड ६० लाख रुपैयाँको लागतमा काम भइरहेको छ । पुनर्निर्माण काम अन्तिम चरणमा पुगेसँगै नगरप्रमुख घनश्याम गिरी र नगर प्रवक्ता कृष्णप्रसाद खड्गी अनुगमनको लागि पार्क पुग्नुभएको छ । अनुगमनसँगै नगर प्रमुख घनश्याम गिरीले पुनर्निर्माण भइरहेको कार्यप्रगतिको जानकारी लिनुभएको थियो । उहाँले समयमै काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सुनिश्चित गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन समेत दिनुभएको थियो ।

शहीद पार्क (त्रिभुवन पार्क) को पुनर्निर्माणले यस क्षेत्रको शौन्दर्यीकरणमा उल्लेख्य योगदान पुर्याउने अपेक्षा गरिएको छ । पार्कको स्तरोन्नतिले हरियाली, विश्राम स्थल, खुल्ला व्यायाम क्षेत्र, गार्डेन चौर, चरा घरलगायत अन्य सुविधाहरूमा सुधार ल्याइएको छ ।

यो योजना सम्पन्न भएसँगै खण्डहरमा परिणत हुन खोजेको यो पार्कले नयाँ जीवन पाउने छ । यो पार्क लामो समयदेखि राजनीतिक खिचातानीले पार्कको नाममा अस्थिरपन्जरमा मात्र सिमित हुन पुगेको थियो । पार्क पुनर्निर्माणको लागि सम्बन्धित निकाय गम्भीर नबन्दा लामो समयदेखि यहाँका बासिन्दालाई पार्कले गिज्याई रहेको थियो । पार्क चन्द्रागिरि नगरपालिकाको गौरब भएको भन्दै नगरले पुनर्निर्माणको लागि आ.व. २०८१–०८२ को बजेटमा विनियोजन गरेर निर्माणको काम अघि बढाएसँगै पार्कको मुहार नै फेरिएको छ ।

लामो समयदेखि नगर र नगरबासीलाई गिज्याई रहेको पार्कको पुनर्निर्माणले नगरको शिर शानले ठडिने छ । पार्क यतिबेला आगन्तुकहरूका लागि आकर्षक गन्तव्यको रूपमा विकास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय