नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले विचार नपु¥याइ बोलेको बताएका छन् ।
समाजवादी पत्रकार संघ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राजदबार हत्याकाण्डका विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्यक्त गरे ।
अध्यक्ष नेपाले गिरिजा प्रसाद कोइरालाले समेत आफूसँग सल्लाह नगरी यस विषयमा नबोलेको स्मरण गराउँदै प्रधानमन्त्रीले कसरी बोल्नुभयो भन्नेबारे अनभिज्ञता प्रकट गरे ।



एमाले अध्यक्ष केपी ओलीले समेत दीपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो नि ? भन्ने प्रश्नमा अध्यक्ष नेपालले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे ।
राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी समेत दिए । अध्यक्ष नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरुको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताउँदै सरकारको कामको समीक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिगार्न नसक्ने ठोकुवासमेत गरे ।
प्रधानमन्त्री दाहालले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुनः सत्यतथ्य छानविन गर्ने बताएका थिए ।



