काठमाडौं । समता फाउण्डेशनले दलित समुदायबाट विद्यावारिधि प्राप्त गरेका ३० जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले दलित समुदायबाट विद्यावारिधि प्राप्त गरेका व्यक्तिहरुलाई सम्मान गर्नुभएको हो । उहाँले राज्यबाट नै सम्मानित गरिनु पर्ने व्यक्तित्वलाई समता फाउण्डेशनको माध्यमबाट त्यस्ता विज्ञलाई आफुले सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । राज्यमन्त्री विकले विज्ञ व्यक्तित्वको सम्मानले आफुलाई पनि विद्यावारिधि गर्न हौसला मिलेकोले त्यसको तयारीमा आफु पनि जुट्ने उल्लेख गर्नुभयो । उहाँले दलित समुदायको हक अधिकार र उत्थानको लागि लड्न सक्ने शक्ति अहिलेका विज्ञ व्यक्तिहरुको प्रमुख हात रहने बताउनु भयो । विकले आफु दलित समुदायको प्रतिनिधित्व गर्दै वन तथा वातावरण राज्यमन्त्री भएकाले दलितका हकअधिकारका लागि आफुले सक्दो पहल गर्ने र आफुलाई सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले दलित समुदायको हकअधिकारका लागि लड्न विभिन्न संघसंस्था रहेपनि समता फाउण्डेशनले गरेको योगदानलाई कसैले भुल्न नहुने बताउनु भयो ।




कार्यक्रममा प्रतिनिधि सभा सदस्य जीवन परियारले देशैभरबाट दलित समुदायका तीस जना व्यक्तिले विद्यावारिधि अर्थात डा. हुनुभनेको भावी सन्ततीको लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले देशमा लाखौं दलित भएपनि ३० जनाले मात्र विद्यावारिधि प्राप्त गर्नुभनेको अझै दलित समुदायका व्यक्तिहरु शिक्षाको पहुँचबाट निकै टाढा रहेको बताउनु भयो । उहाँले दलितहरुले आफ्नो अधिकारको लागि पहिले देखि नै लड्दै आएको र थोरै भएपनि अहिले केही सन्तोषजनक उपलब्धि देखिएको उल्लेख गर्नुभयो । उहाँले संविधानको धारा ४० मा दलितको हक अधिकारको विषय भएको र त्यही धाराअन्तरगत शिक्षा पनि रहेकोमा अझै कानून बनाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले दलितले शिक्षाको हक अधिकारको लागि अब १ पालिकाबाट १ जनालाई पीएचडीको छात्रबृद्धि उपलब्ध हुनुपर्ने भन्दै आन्दोलन गर्नुपर्ने बताउनु भयो । परियारले दलित आन्दोलन छुवाछुत मात्र नभई समुदायको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार भएको उल्लेख गर्नुभयो ।
समता फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियारले २०६५ सालमा स्थापना भएको फाउण्डेशन मुनाफा वितरण नगर्ने कम्पनी भएको उल्लेख गर्नुभयो । फाउण्डेशनले दलित तथा बहिष्कृत समुदायको हक अधिकार सुनिश्चितताको लागि अध्ययन अनुसन्धान गर्दै प्रकाशन, तालिम तथा सम्मेलनमार्फत नीतिगत पैरवी गर्दै आएको बताउनु भयो । उहाँले यो संस्थाले दलित तथा बहिष्करणमा पारिएको समुदायको विषयमा क्रियाशील अनुसन्धान केन्द्रको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको पनि दाबी गर्नुभयो ।
उहाँले कुनै बेला दलित समुदायका व्यक्ति विद्यालय जान समेत तत्कालिन सरकारको हुकुम चाहिने अवस्थाबाट आएका दलितहरु अहिले विभिन्न विषयमा विद्यावारिधि प्राप्त गरेर देशको उच्च ओहोदामा पुग्न कम संघर्षबाट नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा दलित मानव अधिकार पुस्तक २०८० नामक पुस्तक विमोचन गरिनुका साथै जलवायु परिवर्तनले दलित समुदायलाई पारेको असरको विषयमा समेत छलफल भएको थियो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, संस्थापक अध्यक्ष पदम सुनदास, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नेपाल दलित संघ, जातीय मुक्ति मोर्चा, समाजवादी मुक्ति मोर्चालगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।



