चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपाल लगातार दुई खेलमा पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित हुँदै प्रतियोगितावाट बाहिरिएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । हङकङका लागि नतासा मिल्सले २७ रन बनाइन् भने त्यस्तै शान्जीन शहजादले २२ रन जोडिन ।



त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन । पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदै गुमाएको थियो । हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् ।
त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले एक एक विकेट लिएका थिए । आजको खेलसँगै सिरिजको उपाधि भिडन्त आयोजक हङकङ र तान्जानियाबीच हुने तय भएको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ । नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल खेल हुनेछ ।



