काठमाडौं । सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।



सप्तरीको फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए । गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नं को मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३०५९ नं को मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
को २७ प ८१३४ नं को मोटरसाइकल चालक दुहबी–८ बस्ने ४५ वर्षीय सुमन राई र प्र १–०२–०५२ प ३०५९ नं का चालक सप्तरी रुपनी गाउँपालिका–३ घर भई हाल इटहरी–१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




