काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–१ का १४ भूमिहीन दलित तथा सुकुमवासी परिवारले अब जग्गा पाउने भएका छन् । गाउँपालिकाबाट प्रमाणीकरण भएर आएका लाभग्राहीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जनाएको छ ।

लाभग्राहीको वास्तविक अवस्था बुझ्न समितिले सोमबार देवघाट गाउँपालिका–१ मा स्थलगत अनुगमन गरेको थियो । समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा गएको टोलीले लाभग्राहीको बसोबास तथा जग्गासम्बन्धी अवस्थाबारे स्थलगत जानकारी लिएको हो ।

अनुगमनमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारीसँगै देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी थिए । टोलीले गाउँपालिकाबाट सिफारिस गरिएका लाभग्राहीको विवरण र उनीहरूको वास्तविक अवस्थाबीचको अवस्था बुझेर आवश्यक प्रक्रिया अघि बढाएको समितिले जनाएको छ ।

भूमिसम्बन्धी कानुनी व्यवस्थाअनुसार लाभग्राहीको दाबी, विरोध वा विवरण संशोधनका लागि समितिले यसअघि सातदिने सार्वजनिक सूचना प्रकाशित गरिसकेको थियो । आवश्यक प्रक्रिया पूरा गरी स्थलगत अध्ययनसमेत सम्पन्न भएकाले अब जग्गा उपलब्ध गराउने काम अघि बढ्ने समितिका अध्यक्ष तिवारीले बताउनुभयो ।

स्थलगत निरीक्षणपछि लाभग्राहीले लामो समयदेखि भोग्दै आएको भूमिहीनताको समस्या समाधान हुने अपेक्षा गरिएको छ । समितिले प्रक्रिया पूरा भएपछि १४ लाभग्राहीले जग्गा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय