काठमाडौं । आज माघ १६ । देशैभर शहीद दिवस मनाइँदैछ । काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद स्मारक लैनचौरको स्मृति सभामा शहीद दिवस मनाइएको हो । शहीद सप्ताह मुल समारोह समितिले आज प्रभातफेरी तथा स्मृति सभा कार्यक्रम पनि गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्दा प्राणको आहुती दिने शहीदहरु विगत, वर्तमान र भविष्यका निम्ति सबैको प्रेरणाका श्रोत र पथप्रदर्शक भएको बताउनु भयो । उहाँले राजनीतिक खिचातानी नगरी शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै पक्ष इमान्दार भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।



काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीनै तहको सरकारले तहगत रुपमा नै शहीदहरुका परिवार र जनताको मुहारमा खुशी ल्याउन सबै एक जुट भएर अघि बढ्न ढिला भइसकेको बताउनु भयो ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतको उपस्थिति रहेको थियो । काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ ।



