काठमाडौं । धर्तीको पहिलो तीर्थ स्थल सुनसरीको वराह क्षेत्रमा इतिहासमै पहिलो पटक १ सय करोड दीप प्रज्ज्वलन गरिने भएको छ । भगवान विष्णुको तृतीय अवतार वराह (शूकर रूप) ले पृथ्वीदेवीलाई राक्षस हिरण्याक्षबाट मुक्त गरिएको भनि उल्लेख गरिएको पाइन्छ । यस स्थललाई मोक्षदायिनी भूमिको रुपमा पनि लिइन्छ ।



बराह क्षेत्रलाई ‘धर्तीको पहिलो तीर्थ’ तथा ‘बराह भगवानको अवतरण स्थल’को रूपमा लिइन्छ । यस्तो पवित्र स्थलमा नेपाल आमा स्वस्ति शान्ति पूजा अभियानले यही आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म श्रीमद् भागवत महायज्ञ लगाई १ सय करोड दीप प्रज्ज्वलन गर्न लागेको छ । महायज्ञमा प्रमुख कथा बाचक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त श्री दिनवन्धु पोखरेलले गर्नुहुनेछ ।
विराटनगर महानगरपालिकाले यस अभियानलाई समर्थन गर्दै महानगर भित्र दुई स्थानमा कच्ची गेट निर्माणको अनुमति समेत दिएको छ । आयोजकले विभिन्न क्षेत्रमा गरी कार्यक्रम स्थलसम्म ११ वटा गेट राख्ने छ । दीप प्रज्ज्वलन श्रीमद् भागवत महायज्ञ अभियानका अभियन्ता हरि महतले महायज्ञ स्थलमा हजारौं भक्तजनले सहभागिता जनाउने बताउनु भयो । उहाँले देशैभरबाट भक्तजन आउने वातावरण तयार भइरहेको र सोही अनुसार प्रचारप्रसारमा आफुहरु जुटेकोले सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
अभियानका अभियन्ता महतले विश्वमै पहिलो पटक १ अर्ब बत्ति नेपालमै पहिलो पटक बाल्न लागिएको दाबी गर्नुभयो । उहाँले यो अभियानलाई आफुहरुले वल्र्ड रेर्कडमा नेपालको नाम दर्ज गराउन पहल समेत गर्ने जानकारी दिनुभयो । उहाँले यो अभियानलाई सुनसरीबासीले सफल बनाउन सक्दो सहयोग गरिरहेको भन्दै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
OUR NEWS CREW को सहकार्यमा हुन लागेको सुनसरीको बराह क्षेत्रमा १ सय करोड दीप प्रज्ज्वलनको प्रत्यक्ष प्रशारण OUR NEWS CREW ले गर्नेछ ।



