धुलिखेल — काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटनाग्रस्त भएको छ। बीपी राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका(१० सारदा बतासे क्षेत्रमा आज बिहान भएको दुर्घटनामा चालक र सह-चालकसहित १७ जना घाइते भएका छन्। बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस बिहान ८:२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछाने ले जानकारी दिए।
बसमा २४ जना यात्रु सवार थिए। घाइतेमध्ये चालक र सह-चालकको टाउकोमा गम्भीर चोट लागेको छ भने बाँकी घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। हालसम्म घाइतेहरूको पहिचान खुल्न सकेको छैन। बस दुर्घटनाग्रस्त अवस्थामा रहेकोले बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालन गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको थियो।






