काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरुद्ध नक्कली कागजात बनाएर जापान पुगेको घटनामा मुद्दा नचल्ने भएको छ ।सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीको संलग्नता नदेखिएकाले मुद्दा दर्ता नगर्ने निर्णय गरेको हो ।
यसै घटनामा संलग्न अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र योगराज गौतमविरुद्ध मुद्दा दर्ता गरिएको छ । तीमध्ये दिवाकरबाबु, विष्णुप्रसाद र गौतम भने फरार छन् । अनुसन्धानका क्रममा अधिकारीको प्रत्यक्ष संलग्नता देखिएको छैन । अधिकारीले जापान पुगेपछि आफूलाई योजनाबद्ध रूपमा प्रयोग गरिएको थाहा पाएर नेपाल प्रहरीका डिआइजीहरूलाई जानकारी गराएका थिए । अधिकारीले दिएको जानकारीकै आधारमा तीन जनालाई जापान अध्यागमनले डिपोर्ट गरेको हो । अनुसन्धानमा महेश पाण्डेको यस घटनामा मुख्य भूमिका देखिएको छ ।



पाण्डेले नक्कली कागजात तयार गरी सांसद अधिकारीलाई समेत फसाउने प्रयास गरेको देखिएको छ । तर, अधिकारीका नाममा बनाइएका कागजातमा भएका हस्ताक्षर उहाँको नभएको पुष्टि भएको छ । घटनाको छानबिनकै क्रममा कात्तिक २१ गते लिलाबल्लभ अधिकारीले पत्रकार सम्मेलनमार्फत मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । कात्तिक २५ गते उहाँलाई पक्राउ गरी काठमाडौं ल्याइएको थियो । तर, अनुसन्धानले उहाँको प्रत्यक्ष संलग्नता पुष्टि गर्न नसकेपछि मुद्दा नचलाउने निर्णय गरेको छ ।



