चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी शनिबार साँझ स्पेन प्रस्थान गरेका छन्। उनी सेभिल्लामा हुने विकासका लागि वित्तपोषण विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका हुन्।
संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम (UNEP) को आयोजनामा हुन लागेको उक्त सम्मेलन जुन ३० देखि जुलाई ३ सम्म चल्नेछ। नगरप्रमुख गिरीले सम्मेलनका विभिन्न तीनवटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसका साथै, संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग गोलमेच छलफलमा समेत उनी सहभागी हुनेछन्।



नगरपालिकाका अनुसार यो भ्रमण चन्द्रागिरि नगरको दीर्घकालीन विकास रणनीति र नीतिगत निर्णयहरूमा सहयोगी हुने अपेक्षा गरिएको छ। नगरप्रमुख गिरी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ।



