शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरका १७ जना महिलाको सकुशल उद्धार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार, भीमदत्त नगरपालिका–१९ का १४ जना र बेलडाँडी गाउँपालिकाका तीन जना महिला आइतबार च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेपछि बाटो बिराएर सम्पर्कविहीन भएका थिए ।



भीमदत्त नगरपालिका–१९ का महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्ट हुँदै जंगलमा प्रवेश गरेका थिए । सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका थिए । उनीहरू ९ जना र ५ जनाको दुई समूह बनाएर च्याउ खोज्न जंगल पसेका थिए ।
उनीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ आइतबार राति ९ बजेदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो । खोजी अभियानकै क्रममा सोमबार दिउँसो भीमदत्तका १४ जना महिला आफैं सकुशल घर फर्किएका थिए । उनीहरू निकुञ्जभित्र बाटो पहिचान गर्न नसक्दा रातभर जंगलमै अलपत्र परेका थिए ।
यसैगरी बेलडाँडी गाउँपालिका चउन्नीका लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरीको नेपाली सेनाको टोलीले निकुञ्ज क्षेत्रबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । उनीहरू पनि च्याउ खोज्ने क्रममा जंगलभित्र प्रवेश गरेपछि बाटो बिराएर हराएका थिए ।महिलाहरू सकुशल फेला परेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहित सुरक्षा निकायको टोली बागफाँटा पुगेर उनीहरूको अवस्था बुझ्नुका साथै आवश्यक समन्वय गरेको छन् ।
सुरक्षा निकायले वर्षायाममा च्याउ खोज्न वा अन्य प्रयोजनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा घना जंगल क्षेत्रमा प्रवेश गर्दा आवश्यक सावधानी अपनाउन, समूहबाट नछुट्टिन र सम्बन्धित निकायलाई जानकारी दिएर मात्र प्रवेश गर्न स्थानीयलाई आग्रह गरेको छ ।



