निर्माणकार्य पूरा भएर पनि विविध कारणले सञ्चालन हुन नसकेको झापाको मेचीनगर नगरपालिका–७ स्थित प्यारिभिट्टा बसपार्क सञ्चालनमा आएको छ । सञ्चालनमा आएसँगै बसपार्कका लागि जग्गा उपलब्ध गराउने दाता एवं सरोकारवालाहरुको धोको २ दशकपछि पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको जग्गामा बसपार्क निर्माण गर्ने शर्तमा २०५९ सालमा धु्रव शिवाकोटी, खगेन्द्र उप्रेती, तेज शिवाकोटीलगायतले करीब ३ बिघा जग्गा निःशुल्क दिएका थिए ।

त्यसपछि मेचीनगर नगरपालिकाले बसपार्कको डिपिआर तयार गर्ने क्रममा जग्गा अपुग हुने भएपछि थप जग्गा प्राप्तिका लागि पहल गर्नेगरी काँकरभिट्टा गाविसका तत्कालीन उपाध्यक्ष बन्धनकुमार मुण्डाको संयोजकत्वमा समिति बनेको थियो । समितिको पहलपछि स्थानीय थापा परिवारबाट थप ३ बिघा १० कठ्ठा जग्गा प्राप्त भएर डिपिआर तयार भई निर्माणकार्य सुरु भएको थियो ।

त्यससँगै नगर विकास कोषको करीब ७ करोड ९२ लाख रुपैयाँ ऋण सहयोगमा प्यारिभिट्टा बस पार्कको पहिलो चरणको कार्य र काँकरभिट्टा बस टर्मिनलको काम पूरा भयो । काँकरभिट्टा गाविसका तत्कालीन अध्यक्ष डिल्लीराम घिमिरेको संयोजकत्वमा गठित बस टर्मिनल, बस पार्क तथा यातायात व्यवस्थापन समिति मेचीनगरले सो कार्य पूरा गरेको थियो ।समितिका सदस्यसचिव माधव अर्यालका अनुसार दोस्रो चरणमा जगेडा कोषको अढाई करोड रुपैयाँ थप लगानी गरी प्यारिभिट्टामा वर्कसप, सर्भिसिङ सेन्टर, सटरहरु र शौचालय निर्माण कार्य पूरा गरी पुनः करीब २५ लाख रुपैयाँ बराबरको सोलार बत्ती जडान गरिएको छ ।

बस टर्मिनलको व्यवस्थापन र बस पार्कको पूर्ण सञ्चालनका लागि आगामी कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रियामा अघि बढेको समितिले जनाएको छ । बढ्दो शहरीकरण, जनघनत्व, साँघुरिँदो सडकसँगै सवारीसाधनको चापलाई समेत मध्यनजर गर्दै स्थानीय सरकार देशकै सुविधासम्पन्न बसपार्क बनाउने अभियानमा लागीपरेको मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओलीले बताए ।

बस टर्मिनल व्यवस्थित भएसँगै मेची पुल र बजारमा देखिएको अस्तव्यस्तता हट्ने, अव्यवस्थित पार्किङ व्यवस्थित भई यात्रु र सेवाग्राहीहरुले सुविधा महसुस गर्ने, बजार चलायमान र ट्राफिक जाम हट्ने समितिको विश्वास छ । नेपालको पूर्वी सीमावर्ती शहर काँकरभिट्टाबाट देशका सबै जिल्लासम्म सवारीसाधन पुग्ने गरेका छन् । प्रमुख गन्तव्यका रुपमा रहेको काँकरभिट्टामा बनेको एशियन हाईवेबाट छिमेकी मुलुक भारत, भूटान, बंगलादेशलगायतका धेरै देशसँग स्थल मार्ग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय