नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिनु नहुने बताएका छन । वर्तमान पुँजीबजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको उनको भनाइ छ । महामन्त्री थापाले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने स्पष्ट पारे ।
महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गरे । कुनै अध्ययन आधार बिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सेन्ज दिँदा कुशासनको अर्को प्रकरण शुरु हुने जिकिर उनको छ । महामन्त्री थापाले मुलुक एकपछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी समेत दिए । नयाँ स्टक एक्सेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले काँग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने पनि स्पष्ट पारे ।






