काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना मनाइँदै छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् ।

वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिनुभएका पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्नुअघि पुष्पलालले वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो ।

नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि पुष्पलालले राष्ट्र र जनताप्रतिको निष्ठालाई पुष्पलालले कमजोर हुन दिएनन् ।

 

नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा लाग्नुभएका पुष्पलाल आफ्ना दाजु सहिद गंगालाल श्रेष्ठको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

वि.सं. २०१७ को राजा महेन्द्रको कदम पछाडि पुष्पलालले भूमिगत निर्वासित जीवन बिताउनु परेको थियो । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । पुष्पलालको सम्झनामा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति उद्यानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय