सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान चलाएकै कारण कांग्रेस–एमाले आतंकित भएको बताउनु भएको छ ।
सुर्खेतमा पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा अध्यक्ष दाहालले माओवादीको अभियानले कांग्रेस–एमाले आत्तिएको बताउनु भएको हो । उहाँले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम नेपालकै इतिहासमा पहिलो भएको पनि दाबी गर्नुभयो ।



अध्यक्ष दाहालले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर नयाँ आशा जगाउन सफल भएको स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेस र एमालेले सरकारमा जाँदा हारेर गएजस्तो र माओवादी सरकारबाट बाहिरिदै गर्दा जितेर निस्केजस्तो माहोल देशमा बन्नु पार्टी र आन्दोलनका लागि ठूलो उपलब्धी भएको बताउनु भयो ।
जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थालेकाले चुनौतीको सामना गर्न सक्ने पार्टी निर्माणमा जोड दिन सुझाव दिनुभयो । बैठक शनिबारसम्म चल्नेछ ।



