मन्त्री नै मन्त्रीको देश कुन हो ? अजिब–अजिब खाले मन्त्री कहाँ छन् ? तपाईको मुखबाट उत्तर आइहाल्ला, नेपाल । कुनै शंकै छैन संघ र प्रदेश नामका सरकारहरुमा मन्त्री नै मन्त्री छन् । अब मन्त्री बन्ने अनुहार पनि डन, हत्या आरोपी, लुटेराहरुकै छन् । कहिले यता त कहिले उत्ता गर्दै मन्त्री बनिरहेका एक जना प्रदेशमन्त्रीले त मन्त्रालय बेचिदिन्छु मात्र भनेन्, वनमन्त्री बनेर झारपात हेर्नु भन्दै प्रश्न उठाइदिए । यति भनेपछि कुरा बुझिहाल्नुभयो होला, कुरा हो– राजीव गुरुङ उर्फ दीपक मनाङेको ! डन भन्ने थाहा पाएका दललाई के मतलब संख्या पुर्याउन मनाङेलाई हरेक पटक मन्त्री बनाउने अरु कोही होइन, उही कांग्रेस, एमाले, माओवादीहरु नै हुन् । अहिले मनाङेले उनीहरुलाई नै मन्त्रालय बेचिदिन्छु भनिदिनुभयो ।
मन्त्री ! यो शब्द सुन्ने वित्तिकै तपाईंलाई के सम्झना आउँछ ? भ्रष्ट, डन, हत्या आरोपीकै अर्काे रुप त हो नि मन्त्री भनेको ! तपाईं यस्तै सोच्दै हुनुहुन्छ होला ! यसो भनिरहँदा तपाईंको आँखा अगाडि कस्को तस्बीर झल्किन्छ ? उही त हो नि दीपक मनाङे, रोज राणा, बादसाह कुर्मीहरु कै होइन त ? मनाङेले मन्त्रालयले लिलामीमा राख्नुभएको छ ! सरकारको मन्त्रालय कसरी लिलामीमा ? आश्चार्यमा पर्नुभयो होला ? मनाङेले हिजै मात्र मन्त्रालय बेचिदिन्छु भनेको एउटा भनाइ सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ ।




कांग्रेसलाई डेढ करोड अनि एमालेलाई ३ करोड ! स्वतन्त्र जितेका मनाङे दल अदलबदल पनि गरिरहने नेता, शर्त चाँही गण्डकी सरकारको मन्त्री पाउँनै पर्यो । खेलकुद मन्त्रालयबाट सुरु गरेका मनाङे, भौतिक पूर्वाधार तथा यातायात हुँदै वनसम्म आइपुग्दा झाडी उखेल्ने मन्त्रालय भन्न नै भ्याउनुभयो ।
तर मनाङेले पेश गरेको यो तर्कलाई लिएर उनले प्रदेश सरकारको भूमिका र मन्त्रीको जिम्मेवारीप्रति उपेक्षा देखाउनुभयो । यदि मन्त्रालयको कार्यक्षेत्रलाई सीमित ठान्ने हो भने मन्त्री बन्ने उद्देश्य के हो ? मन्त्रीको जिम्मेवारी भनेको उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको हितमा काम गर्नु हो । मन्त्री हुनुको मर्मलाई अपमान गर्ने यो प्रकारको सोचले मनाङेको आलोचना मात्र होइन, उहाँमाथि गम्भीर प्रश्नचिन्ह पनि खडा गर्छ । मनाङेले वन मन्त्री, ऊर्जा मन्त्री र खेलकुद मन्त्रीको जिम्मेवारीप्रति निराशा प्रकट गर्दै ‘तितेपाती र वनमाराको झ्याङ हेर्न मन्त्री बन्दिनँ भन्नुले मन्त्रालयको कार्य र जिम्मेवारीलाई गम्भीर रूपमा नलिएको देखिन्छ । यदि खेलकुद मन्त्रालयको पहुँचमा रंगशाला छैन भने, मन्त्रीको प्राथमिकता भनेकै रंगशालाको निर्माण, खेलकुदको विकास र युवाको उत्थान गर्नु हो । आफ्नो अभिव्यक्तिहरूले उहाँ कहिले पनि मन्त्री बन्न लायक नै पात्र थिएनन् भन्ने पुष्टि भएको छ । ६ पटक मन्त्री बन्दा माखो नमारेर विवादमा तानिएका मनाङेले आफ्नो पुरानो गुण्डा शैली नै देखाउनुभएको छ ।
युवा तथा खेलकुद मन्त्री हुँदा उनले कर्मचारीलाई कुटपिट गर्नु, भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा पत्रकारलाई धम्क्याउनु, कार्यकक्षमा गञ्जी लगाएर बस्नु र यहाँसम्म कि रक्सी पिएर मन्त्रालय पुग्नु यी सबै गतिविधिहरूले मन्त्रालयको गरिमामा गम्भीर क्षति पुगेको छ ।
मनाङे प्रवृत्तिलाई अरुले होइन, ठूला भन्ने दलले नै प्रश्रय दिए । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि बहालवाला मुख्यमन्त्री पाण्डेले मनाङेलाई यति धेरै भाउ दिएकै कारण उहाँ जे पनि बोलिरहनुभएको छ । खासमा मन्त्रालयको गरिमामाथि प्रश्न उठाउनेलाई कारवाही गर्नुपर्न थियो । तर कारवाही गर्दा भोलि फेरि सत्ता गठबन्धन ढल्दा उही चाहिने हुँदा सबैले मनाङेलाई पुलपुल्याइरहेका छन् । मन्त्रीको पद कुनै सजिलो सिंहासन होइन, यो जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीको सिन्दुर हो । तर मनाङेले यसलाई ’झाडी उखेल्ने’ थलो भन्दा बढी केही ठान्नुभएन ।



