नेपाल राष्ट्र बैंकले नेपालको शोधनान्तरस्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको जनाएको छ । आज केन्द्रीय बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तरस्थिति सुधार भएको जनाएको हो । अघिल्लो आर्थिक वर्ष शोधनान्तरस्थिति २ खर्ब ५५ अर्बले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा कुल आयात १६.१ प्रतिशत र ब्यापारघाटा १५.५ प्रतिशत घटेकाले शोधनान्तरस्थितिमा सुधार देखिएको हो । यस्तै गत आर्थिक बिप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भइ १२ खर्ब २० अर्ब आएकाले शोधनान्तरस्थितिमा सुधार देखिएको हो । डलरमा रेमिट्यान्स १२ प्रतिशतले बढेर ९ अर्ब ३३ अर्ब भित्रिएको छ ।



वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भएको वृद्धि तथा अमेरिकी डलर बलियो हुँदा रेमिट्यान्समा वृद्धि देखिएको हो । बिप्रेषण आम्दानी रेमिट्यान्स’ २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ कायम भएको हो । गत आर्थिक वर्ष चालु खाताघाटा ७२ अर्ब १६ करोड रहेको छ । अघिल्लो आर्थिक चालु खाता ६ खर्ब २३ ले घाटामा थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले घटेर ७ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ । यस्तै यस अवधिमा वैदेशिक लगानी ५ अर्ब ९६ करोड कायम भएको छ । समीक्षामा अवधिमा कुल विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष असार मसान्तसम्म १२ अर्ब १५ करोड रुपैयाँ बाराबरको विदेशी मुद्रा सञ्चिति रहेकोमा गत आर्थिक वर्ष २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब कायम भएको हो ।
अमेरिकी डरलमा यस्तो सञ्चिति अघिल्लो आर्थिक वर्षको तुलनामा २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अहिलेको सञ्चितिले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त हुने केन्द्रीय बैंकको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ ।
पुनः श्रम स्वीकृति लिनेको संख्यामा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २ सय ७२ पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा वार्षिक औसत मूल्यवृद्धि ७.७४ प्रतिशत कायम भएको छ । गत वर्ष रेष्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि १४.४२ प्रतिशत कायम भएको छ ।
त्यस्तै मसलाको मूल्यवृद्धि १२.५० प्रतिशत पुगेको छ । खाद्य उपमसूहको भने १०.७० प्रतिशत रहेको छ । स्वास्थ्य सेवाको मूल्यवृद्धि १० प्रतिशत र शिक्षाको पनि ८ प्रतिशत माथि रहेको छ । क्षेत्रगत हिसाबले काठमाडौंभन्दा तराईमा मूल्यवृद्धि उच्च रहेको छ । राष्ट्र बैंकका अनुसार तराईमा औसत मूल्यवृद्धि ८ प्रतिशत रहेको छ भने काठमाडौंमा ७.५५ प्रतिशत रहेको छ ।



