चार महिनाको अवधिमा नेपालमा उत्पादित करिब डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो चार महिनामा ५७ लाख ७५ हजार किलोभन्दा बढी चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात भएको हो । नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायत लगायतका देशमा जाने गरेको छ । नेपालको चियाको मुख्य बजार भने भारत हुने गरेको छ । चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ ।



त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन हुँदै आएको छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान आबद्ध छन् । नेपालमा अर्थोडक्स चिया उत्पादन गर्ने ३० र सिटिसी चिया उत्पादन गर्ने ३८ गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् ।



