नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चारलेनको पुलले अब छिट्टै पूर्णता पाउने भएको छ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक योजनामा पर्ने मादी नदीमाथि निर्माण भइरहेको यो पुलको हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। नेपालकै पहिलो चारलेन र सबैभन्दा लामो ‘आर्क डिजाइन’ को यो पुल यातायात सहज बनाउनका साथै पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित धमाधम निर्माण भइरहेको छ।



नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चारलेन पुलको काम तीव्र गतिमा अघि बढिरहेको छ। पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक योजनामा पर्ने यो पुल मादी नदीमाथि निर्माण भइरहेको हो। व्यास नगरपालिका–४ र ५ जोड्ने पुलको हालसम्म ६० प्रतिशत काम पूरा भइसकेको छ। ३१८ मिटर लामो उक्त पुल ६ वटा स्पानसहित निर्माण हुनेछ। यो नेपालकै पहिलो चारलेनको पुल हो, जुन पृथ्वीराजमार्गमा निर्माण हुने सबैभन्दा लामो ‘आर्क डिजाइन’ को पुल पनि हो। हाल मादी नदीमाथि रहेको दुईलेनको ३७० मिटर लामो पुलको करिब ५० मिटर टाढा नयाँ पुल बनिरहेको छ। पुल निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा १ अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनी जेड आइष्ट अन्नक जेभीले तीन वर्षभित्र पुल सम्पन्न गर्ने लक्ष्यसहित कार्यरत छ। निर्माणलाई तीव्रता दिन दैनिक १ सय २५ जना कामदार खटिएका छन्। पुलको डिजाइन परिवर्तन गर्दा ६ महिनाको ढिलाइ भए पनि हाल काम धमाधम भइरहेको छ। यदि डिजाइन ढिलो परिवर्तन नभएको भए हालसम्म ८० प्रतिशत काम सकिने थियो।
पुललाई केवल यातायातका लागि मात्र नभई पर्यटकलाई समेत आकर्षित गर्ने हिसाबले कलात्मक आर्क डिजाइनमा निर्माण गरिँदैछ। वि।सं। २०२६ मा रेखांकन भएको पृथ्वीराजमार्गमा यातायातको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ADB को ऋण सहयोगमा चारलेनको सडक विस्तार गर्न लागिएको हो। पूर्वी खण्डको ठेक्का लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार छ भने पश्चिमी खण्डको ठेक्का लागत ७ अर्ब ४० करोड ४६ लाख छ ।
यो परियोजना सम्पन्न भएपछि तनहुँको यातायात पूर्वाधारमा ठूलो फड्को मार्नेछ। चारलेन पुलले यातायात व्यवस्थापनलाई सहज बनाउने मात्र होइन, तनहुँलाई पर्यटकीय हिसाबले समेत नयाँ उचाइमा पुर्याउनेछ। यथासक्य चाँडो निर्माण सम्पन्न गर्न तदारुकताका साथ काम भइरहेको छ, जसले यात्रुहरूलाई सुरक्षित र सहज यात्रा गर्न सहयोग गर्नेछ।



