काठमाडौं, साउन ५ — नेपाली बजारमा सुनको मूल्यले आज अहिलेसम्मकै उच्च विन्दु छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यो मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो। लगातारको वृद्धिपछि सुनले नयाँ मूल्यको कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।



चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर खुद्रा बजारमा प्रतितोला २ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २ हजार २५५ रुपैयाँ थियो।
मूल्य वृद्धिको कारण
सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव, अमेरिकी डलरको भाउ, मुद्रास्फीति, र बैंकहरूको ब्याजदर लगायतका कारणले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव परेको हो। विशेषगरी, वैश्विक आर्थिक अस्थिरता, केन्द्रीय बैंकहरूको मौद्रिक नीति, र लगानीकर्ताहरूको सुरक्षित लगानीको प्राथमिकताले सुनको मूल्य उकालो लागिरहेको बताइन्छ।
सुनको मूल्य अत्यधिक बढेसँगै बजारमा सुन किन्ने उपभोक्ता पर्ख र हेरको अवस्थामा छन्। धेरै जसो खुद्रा सुन पसलहरूमा किनमेल सुस्त भएको व्यवसायीहरू बताउँछन्। विवाह तथा चाडपर्वको तयारीमा रहेका ग्राहकहरू भने मूल्य अझै बढ्न सक्ने अड्कलबाजीमा सतर्क देखिएका छन्।



