काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी प्रधान सेनापति नियुक्त गर्नुभएको हो ।
सिग्देल नेपाली सेनाको ४५औं प्रधानसेनापति हुनु भएको छ । नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गर्नुभएको थियो ।



यसअघि साउन १४ गते राष्ट्रपति पौडेलले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिनुभएको थियो । उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनुभएको थियो । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल पर्नुभएको हो ।
३७ वर्षदेखि सैनिक सेवामा कार्यरत सिग्देलले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर गर्नुभएको छ ।



