धनकुटा -नेपाल एकिकरण गर्ने क्रममा राष्ट्रपिता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा रहेको तत्कालिन गोर्खाली सेनाले प्रयोग गरेको विभिन्न गढी, किल्ला, दरवार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरु पहिचान गरी संरक्षण, सम्वर्द्धन र विकास गर्ने अभियानलाइ नेपाली सेनाले प्राथमिकता दिएको छ । यस क्रममा नेपाल एकीकरण हुदाँ सुनसरी र धनकुटा जिल्लामा प्रयोग भएका ऐतिहासिक एकीकरण पदमार्ग पहिचान गरी सोको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने योजना अनुसार शुक्रबार नेपाली सेनाको सक्रियतामा ऐतिहासिक साँगुरीगढी एकीकरण मार्ग पदयात्राको आयोजना गरिएको छ ।

किराँतकालमा लिम्बुवान क्षेत्र दश भागमा विभाजित गरी प्रत्येक ठाउँमा प्रत्येक राजाले आफ्नो गढी बनाएका थिए । सोईयाक लाहो हांगले शासन गरे र साँगोरियोकमा गढी अथवा सानगढी बनाई शासन गरेको उक्त साँगोरियोकमा सानगढी अपभ्रँश भई साँगुरीगढी नामाकरण भएको जसलाई हालको साँगुरीगढी भनेर चिनिन्छ ।

नेपाल एकीकरणको क्रममा वि.सं.१८३१ मा अभिमानसिंह बस्न्यातले बिजयपुरदेखि महाभारतका डांडामा रहेको ऐतिहासिक साँगुरीगढीमा गोर्खाली सैनिक दल पठाई सो क्षेत्र कव्जा गरेको जानकारहरुको भनाइ छ । तत्कालिन समयमा गोर्खाली सैनिक दलले प्रयोग गरेको ऐतिहासिक साँगुरीगढी एकीकरण मार्ग धरानस्थित फुस्रेदेखि चिउरीबास, साँगुरीगढी, गोलखाँडी, आसकोट, हुकाबास, बेलाराबेसी, बेलाहारा, उत्तरपानी, पाख्रिबास, अधेरी खोला, पाटी गाउँ, अर्खौले जितपुर,नागेश्वर झारेसाँघु र लेगुवाघाटसम्म रहेको छ ।

ऐतिहासिक महत्व बोकेको साँगुरीगढी हाल आएर पर्यटकिय आकर्षणको केन्द्रविन्दु बन्दै गईरहेको छ । यसको संरक्षण तथा प्रवर्द्धनको लागि स्थानिय स्तरमा क्रमश कामहरु भएता पनि नेपाली सेनाले सुरु गरेको नेपाल एकीकरणको दौरान प्रयोग भएको मार्गहरुको पहिचान गरी संरक्षण तथा प्रवर्द्धनले गर्दा सांगुरीगढी लगायत उक्त क्षेत्रको एकिकृत पदमार्ग अझ महत्व तथा चासोको स्थान बन्न पुग्ने देखिन्छ । जसले गर्दा सांगुरीगढीको संरक्षण तथा प्रवर्द्धनको लागि स्थानिय निकाय र नेपाली सेना योजनावद्ध तरिकाले अगाडी बढ्नुपर्ने देखिन्छ ।

मुलुक एकिकरणको क्रममा प्रयोग भएको ऐतिहासिक पदमार्ग पहिचान गरी सोको सम्बर्धन तथा प्रबर्धन गर्ने योजना अनुसार गत बर्षबाट साँगुरीगढीमा औपचारिक रुपमा सुरु भएको पदयात्राले यस बर्ष पनि निरन्तरता पाएको हो ।

नेपाली सेनाको पुर्वी पृतना मुख्यालयको समन्वय र निर्देशनमा धनकुटास्थित भीमदल गण र इटहरीस्थित कृष्णदल गणले धनकुटा नगरपालिका तथा साँगुरीगढी गाँउपालिका, स्थानीय प्रशासन र अन्य सुरक्षा निकाय तथा विभिन्न सरकारी र सामाजिक संस्थाका साथै विभिन्न स्थानीय तहको प्रत्यक्ष संलग्नतामा एकिकरण मार्ग पदयात्रा अभियान सञ्चालन गरेको हो ।साँगुरीगढी गाउँपालिकाको वडा नं। ६ मा पर्ने ऐतिहासिक साँगुरीगढी क्षेत्रको एकीकृत पदमार्ग सैनिक महत्वको दृष्टिकोणले महाभारत पर्वत शृङ्खलामा रहेको रणनैतिक महत्व भएको करिव तीन किलोमिटर नागबेली उच्च शृङ्खलाको मध्य भाग पर्दछ ।

एकीकरण मार्ग पदयात्रा धरानस्थित फुस्रेदेखि शुभारम्भ भई धनकुटा जिल्लाको ऐतिहासिक साँगुरीगढी पुगेर बिसर्जन भएको थियो ।पदयात्रामा नेपाली सेनाको टोलीका अतिरिक्त सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली, जननिर्वाचित प्रतिनिधिहरु, विभिन्न सरकारी र सामाजिक संस्थाका प्रतिनिधि, उद्योगी व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रा ऐतिहासिक साँगुरीगढीमा पुगेपछि आयोजना गरिएको कार्यक्रममा नेपाली सेनाका पुर्वी पृतनापति उपरथी डा। आशबहादुर तामाङले पदयात्रा कार्यक्रमले ऐतिहासिक मार्गको पहिचान गरी संरक्षण, सम्वर्द्धन र विकास गर्न थप मद्दत पुग्न विश्वास व्यक्त गरे । उनले प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशनको लक्ष्य अन्तर्गत नेपाल र नेपाली सेनाको ईतिहास प्रवर्धन गर्ने तथा नेपाली संस्कृति र परम्परा प्रवर्धनमा सहयोग पु¥याउने लक्ष्य अनुरुप सेनाले विविध गढी, किल्ला, दरवार तथा एकीकरणको दौरान प्रयोग भएको मार्गहरु पहिचान गरी संरक्षण, सम्बर्धन र विकास गर्ने कार्य अगाडि बढाएको बताए ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पदयात्रा कार्यक्रमको सफल आयोजनाले साँगुरीगढी लगायत उक्त क्षेत्रमा पर्ने पदमार्गहरुको संरक्षण तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राईले नेपाल र नेपाली सेनाको ईतिहासको प्रवर्धन र संरक्षण गर्ने तथा नेपाली संस्कृती र परम्परा प्रवर्धनमा सहयोग पु¥याउने उद्धेश्य अनुरुप नेपाली सेनाले अगाडि सारेको विविध गढी, किल्ला, दरवार तथा एकीकरण पदमार्गहरुको संरक्षण, सम्बर्धन र विकास गर्ने कार्य प्रशंसनीय रहेको उल्लेख गरे ।

भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले नेपाल सरकारको नीति तथा कार्यक्रममा समाविष्ट इतिहास तथा ऐतिहासिक धरोहरहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने त्रममा नेपाली सेनाले ऐतिहासिक साँगुरीगढी एकीकरण मार्ग पदयात्राको आयोजना गरेको बताए । सो अबसरमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण, झण्डोत्तोलन तथा झण्डा सलामी अर्पण तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय