जेन-जी आन्दोलनमा घाइते भएपछि पत्नी आरजूसहित सिङ्गापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउँदो २६ गते काठमाडौं ओर्लिंदै हुनुहुन्छ। कानुनी घेराबन्दी र पक्राउ पुर्जीको त्रासका बीच हुन लागेको देउवाको यो स्वदेश फिर्तीले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरिदिएको छ। के देउवाको फिर्ती सहज होला ? देउवा यस्तो बेला काठमाडौं ओर्लदै हुनुहुन्छ, कंग्रेस विवाद उत्कर्षमा छ अनि सर्वोच्चमा उनै देउवाको निवेदनले निस्सा पाएको छ । नबोलि नबोली विपक्षीलाई बशमा पार्ने देउवाको पुरानो तरिकालाई इतरले आफुहरुको अस्तित्व रक्षाको कवच बनाउने प्रयास गरिरहँदा देउवा आफैं भने कानुनी उल्झनबाट बच्न मुस्किल छ ।
यही २६ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आउँदै हुनुहुन्छ
के उहाँ साँच्चै नेपाल आउँदै हुनुहुन्छ ? यदि देउवा आए भने विमानस्थलमा प्रहरीले धरपकड गर्ला त ? यसअघि सरकारले छानबिन र पक्राउको कडा प्रयास गरेकाले यसपटक के देउवा आफ्नै सुरले मात्रै नेपाल आउन लाग्नुभएको होला त ? वा सरकारले ग्रिन सिंग्नल दिएपछि ? अनि देउवा २६ गते नै नेपाल आउनुको खास कारण के होला ? के २९ गते आयोजना हुने इतर पक्षको भेलामा देउवा प्रमुख अतिथि बन्दै हुनुहुन्छ ? वा सर्वोच्च अदालतमा कांग्रेस आधिकारिकताको मुद्दाले पाएको निस्सा पछि उहाँलाई कांग्रेसका विस्थापित नेताहरूले आफ्नो आड-भरोसाका लागि बोलाएका हुन् ?



यी तमाम प्रश्नहरूले अहिले काठमाडौँको राजनीति र कानुनी वृत्त गर्माएको छ
जेन-जी आन्दोलनका क्रममा घाइते भएपछि देउवा पत्नी आरजूसहित उपचारका लागि भन्दै २०८२ कार्तिक १० गते सिङ्गापुर प्रस्थान गर्नुभएको थियो। तर उहाँहरू विदेशमै रहेका बेला छानबिनका लागि कानुनी प्रकृया तीव्र पारियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान अघि बढाउँदै देउवा दम्पत्ति र छोरा जयवीर देउवाविरुद्ध अकुत सम्पत्ति र वित्तीय अपचलनको अभियोगमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराए। पारिवारिक रूपमै कानुनी सङ्कट गहिरिएपछि देउवा दम्पत्तिको सिङ्गापुर बसाइ लम्बिएको थियो ।तर, गत जेठमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले देउवाका लागि कानुनी सुरक्षाको बाटो खोलिदियो। सर्वोच्चले दुई मुख्य आधारमा टेकेर पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
पक्राउ पुर्जी जारी गर्दा प्रक्रियागत त्रुटि भएको
सम्पत्ति शुद्धीकरण मुद्दाको क्षेत्राधिकार विशेष अदालतको हुने भएकाले जिल्ला अदालतको अनुमति स्वतः निष्क्रिय भएको। अदालतको यही आदेशका कारण अनि इन्टरपोलबाट समेत रेड नोटिस समेत जारी नभएकाले कानुनी रूपमा देउवा अहिल्यै पक्राउ परिहाल्ने स्थितिमा देखिनुहुन्न। तर प्रहरीको आन्तरिक अनुसन्धान र सरकारको विगतको शैलीका कारण विमानस्थलबाटै समातिने आशङ्का भने कायमै छ। यद्यपि, देउवा २६ गते नै फर्किनुको पछाडि ठूलो राजनीतिक रणनीति लुकेको छ।
राजनीतिमा खुराफात देउवाका प्रिय शब्द हुन् । आफ्नै पार्टीको सरकार ढाल्ने, अर्काको पार्टीृमा खेलेर विभाजन नै गराएर प्रधानमन्त्री बन्ने अनि राजनीतिमा प्राडो र अन्य अन्य विकृत चलन भित्र्याउने सम्मका हद गर्न सिपालु देउवाको यो नेपाल आगमनमा मुख्य दुइ अभिष्ट लुकेका छन् ।
पहिलो, आगामी २९ गते कांग्रेसभित्रको इतर पक्षले आयोजना गर्न लागेको शक्ति प्रदर्शन र बृहत् भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। देउवालाई उचाल्ने अनि शशांकलाई अगाडी देखाएर सभापति गगन थापालाई असफल पारिछाड्ने मनासयसहित इतर देउवालई मञ्चको मुख्यभागमा राख्न चाहन्छ । अनि देउवा पनि जीवनको उत्तरार्द्धमा आफ्ना भक्तहरुको उद्दारक बन्ने अभियानमा ।
दोस्रो, सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेको छ। अदालतको यो कदमपछि पार्टीभित्र कमजोर भैसकेका अनि चुनावमा समेत जान नसकेका तर सधैं हामी नै नेता हौं भन्ने दम्भ देखाइरहेका र सबैतिरबाट विस्थापित बनेका पात्रहरु उत्साहित बनेका छन्। उनीहरूले आफ्नो कानुनी र राजनीतिक पुनरागमनका लागि देउवाको भौतिक उपस्थिति र आड-भरोसा खोजेका छन् ।
कतिसम्म भने गत चुनावमा गगन थापालाई रिझाएर टिकट लिएका तर जनताले जनमत जोगाउने मत समेत नदिएकाहरु पनि अहिले देउवा आउ कांग्रेस बचाउ भन्ने शैलीमा उत्रिरहेका छन् । उनीहरुको उक्साहटकै कारण देउवा थप हौसिएको पक्का हो ।
अदालतको कानुनी रक्षा कवच, विस्थापित समूहको गुहार र २९ गतेको शक्ति प्रदर्शन
सबै राजनीतिक समीकरण जोखेर नै देउवाले २६ गते स्वदेश फर्किने हिम्मत गर्नुभएको हो। छोरा जयवीर अनुसन्धानकै घेरामा रहँदा देउवा पत्नी आरजुमाथि पनि केही अनुसन्धान हुने निश्चित छ । र यसका लागि उहाँहरुलाई पक्राउ नै गर्ने अवस्था आउने छ । यद्यपी कानुनी रूपमा सुरक्षित देखिए पनि २६ गते त्रिभुवन विमानस्थलमा प्रहरीको प्रशासनिक कडा कदम देखिनेछ या देउवाको सहज पुनरागमन हुनेछ, त्यसका लागि अब केही दिन कुर्नैपर्नेछ।



