साबिक उपविजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल पुरुषतर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा आज सम्पन्न पुरुषतर्फको फाइनलमा पुलिसले गण्डकीलाई ३१ को सेटमा हराएको हो । पहिलो र दोस्रो सेट २५-२३ र २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले हार्यो। तर चौंथो सेटमा २५-२२ को जित निकाल्दै पुलिसले उपाधि कब्जा गर्यो ।



आजै भएको महिलातर्फको फाइनलमा साबिक विजेता एपिएफ क्लबलाई ३-२ को सेटमा हराउँदै आयोजक टाइगर ग्रुपले उपाधि जितेको छ । पहिलो सेट १७-२५ ले गुमाएको टाइगरले प्रतिस्पर्धात्मक दोस्रो सेटमा २९-२७ को कठिन जित निकाल्यो । तेस्रो सेट एपिएफले २५-२१ ले जित्दा चौंथो सेट २५-१६ ले जित्दै घरेलु टोली खेलमा फर्कियो । पाँचौं तथा निर्णायक सेट १५-१३ ले जित्दै आयोजकले पहिलो उपाधि जित्यो । दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गरेका छन् ।



