नेपाल र बंगलादेशबीच बिहीबार ढाकामा भएको ७औं ऊर्जा सचिवस्तरीय संयुक्त बैठकमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ। हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रिया अगाडि बढाउने र जेभीए छिटो टुंग्याउने सहमति पनि जुटेको छ। नेपालबाट भारतीय ग्रिडमार्फत बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात अध्ययन गर्ने निर्णय भएको छ।
नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता प्रवर्द्धन, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्ने र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने निर्णय गरेका छन्।






