काठमाडौं । विश्वकै सबैभन्दा लामो पदयात्रा मध्ये एक मानिने मिथिला मध्यमा परिक्रमा आजबाट मधेश प्रदेशको मिथिला बिहारी नगरपालिका–स्थित कचुरीबाट सुरु भएको छ।

१५ दिने परिक्रमा फाल्गुन औँसीदेखि पूर्णिमासम्म सञ्चालन हुन्छ। धनुषाको मिथिला बिहारी मठबाट भगवान् राम–जानकीको डोला निकालिएको हो। डोला जनकपुरधामस्थित रत्नसागर मठ हुँदै जानकी मन्दिर पुर्याइएपछि अन्य मठ–मन्दिरका डोलासहित सामूहिक परिक्रमा प्रारम्भ गरिने परम्परा छ। बाजागाजा र मौलिक मिथिला पहिरनमा श्रद्धालुहरू पदयात्रामा सहभागी भएका छन्।

नेपाल–भारत सांस्कृतिक सेतुका रूपमा परिचित यो परिक्रमा धनुषा, महोत्तरी र भारतको बिहारका विभिन्न धार्मिक स्थल समेट्दै करिब १२० किलोमिटर दूरी तय गर्छ, जसमा ९० किलोमिटर नेपाल र ३० किलोमिटर भारततर्फ पर्छ। कुल १५ पराउमध्ये चार भारतमा र बाँकी नेपालमा रहेका छन्। मिथिला माहात्म्यअनुसार परिक्रमा १८औँ शताब्दीअघिदेखि प्रचलनमा रहेको उल्लेख छ। धार्मिक मान्यताअनुसार कल्याणेश्वरबाट औपचारिक रूपमा परिक्रमा प्रारम्भ भई अन्तिम दिन जनकपुरको अन्तरगृह परिक्रमा सम्पन्न गरिन्छ। परिक्रमा सकिएको भोलिपल्ट मिथिला क्षेत्रमा होली पर्व मनाउने परम्परा छ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले डोला उठाएर उद्घाटन गर्दै रामायण सर्किटलाई प्राथमिकताका साथ अघि बढाउने बताए। उनले अयोध्या र जनकपुरधामबीच सिधा हवाई सेवा सञ्चालन गर्ने तयारी थालिने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय